Categories
समाचार

आज काग र कुकुर तिहार मनाइँदै

काठमाण्डाै – आज काग र कुकुर तिहार मनाइँदैछ । तिथिका घटबढका कारण काग र कुकुर तिहार एकैदिन परेको छ । आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिइ काग तिहार मनाइन्छ । अघि बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि थियो । त्यसपछि चतुर्दशी तिथि लागेको छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा रामचन्द्र गौतमले बताउनु भयो । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिइ खुसी पार्ने गरिएको हो ।

आज काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ को कागेश्वरी धाम, पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रमा रहेको कागेश्वरी मन्दिर क्षेत्रमा पनि कागेश्वर महादेवको पूजा आराधना गरी मीठा मीठा खानेकुरा खुवाउनेको भीड लाग्छ ।

यस्तै,आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खानदिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मुलढोकामा बस्ने कुकुरले सहजरूपमा बाटो छोडि दिने धार्मिक विश्वास छ । अघि बिहान सवा ७ बजेपछि चतुर्दशी तिथि लागेको सवा ७ बजे पछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.