सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरीमाथि लागइएको झुटा मुद्दा खारेज गर्ने सैद्धानितक सहमति भइसकेको बताएका छन् ।
सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा आयो, जे भएको छ, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति गरिएको छ र, प्रक्रिया पनि अगाडि बढेको छ ।’
टीकापुर घटनाकाको मुद्दामा अहिले जेलमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सदस्य रेशम चौधरी पनि स-सम्मान जेलमुक्त हुने प्रचण्डले संकेत गरे।
‘जनताको मतबाट जितेका माननीयहरूलाई स-सम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास पनि तपाईंहरूको अगाडि राख्न चाहन्छु,’ प्रचण्डले भने।
आफूले नेतृत्व गरेको माओवादी आन्दोलनका क्रममा जेल परेकाहरू अहिले पनि जेलमै रहेकाले टीकापुर घटनामा जेल परेकाहरूको पीडा आफूले बुझेको प्रचण्डले बताए।‘मेरै आन्दोलनका दर्जनौं साथीहरू अहिले पनि जेल छन्। त्यो पीडा मभित्र कति धेरै होला त्यो बुझिदिन आग्रह गर्दछु,’ उनले भने।
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्या न गएको थियो।
सोही मुद्दामा चौधरीसहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो।कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद चौधरीलाई जन्मकैदको सजाय तोकेको छ।