0 Comments

अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहने नयाँ फिल्म ‘एन्टी हिरो’ मा ‘लिलिबिली’ गर्ल जसिता गुरुङले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् । अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ गरि दुई फिल्ममा काम गरिसकेकी उनले अब अनमोलसँग जोडी बाँध्नेछिन् । लामो समयदेखि दुईलाई स्क्रिनमा हेर्ने दर्शकको ठूलो इच्छा थियो । अब त्यो पूरा हुने भएको छ ।

केही दिनयता निर्माता तथा अभिनेता भुवन केसी फिल्मका लागि अभिनेत्रीको खोजीमा थिए । उनको नजरमा दुई अभिनेत्री थिए, साम्राज्ञी आरएल शाह र जसिता गुरुङ । साम्राज्ञीसँग खासै राम्रो सम्बन्ध नभएका कारण उनले जसितालाई फिल्म अप्रोच गरेको स्रोत बताउँछ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, निर्माता भुवन र अभिनेत्री जसिताबीच मौखिक सहमति भइसकेको छ ।

शुक्रबार दिउँसो २ बजे जसिताले औपचारिक रुपमा फिल्म ‘एन्टी हिरो’ साइन गर्ने स्रोत बताउँछ । तिहारपछि छायांकन सुरु हुने फिल्ममा अभिनेता भुवनले पनि अभिनय गर्दैछन् । फिल्ममा उनी नेगेटिभ रोलमा देखिँदैछन् । पहिलो पटक अनमोल र भुवनले एकसाथ फिल्ममा अभिनय गर्न लागेका हुन् । फिल्मका लागि निर्देशकको अझै टुंगो लागेको छैन । सम्भवतः भुवन स्वयंले फिल्मको निर्देशन गर्नेछन् ।

एक्सन-लभस्टोरी जनरामा निर्माण हुने फिल्मका लागि अहिले अनमोल शरीर सुंगठित बनाउन जिममा पसिना बगाइरहेका छन् । फिल्म ‘कृ’ पछि उनी फेरि एकपटक ‘एन्टी हिरो’ मा एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । फिल्ममा उनको चकलेटी लुक्स पनि देख्न पाइने बताइएको छ । फ्लोरमा नजाँदै लगानी उठाइसकेको यो फिल्मको अहिले स्क्रिप्टलाई फाइनल गर्ने काम भइरहेको छ ।

अभिनेत्री जसिता गुरुङ ‘एन्टी हिरो’ भन्दा अगाडि निर्देशक रेनशा वान्तवा राईले निर्देशन गर्ने नयाँ फिल्म ‘आईएम ट्वान्टिवान’ मा अनुबन्ध भइसकेकी छन् । यूके रैथाने उनी यही फिल्मको वर्कसपमा सहभागी हुन केही हप्ता अगाडि नेपाल आएकी थिइन् । उनले ‘एन्टी हिरो’ र ‘आईएम ट्वान्टिवान’ मध्ये कुन फिल्म अगाडि गर्नेछिन् त्यसको विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

Author

gururngsirjana@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *