Categories
ताजा समाचार

प्रचण्ड र बुहारी मगरको दबाबमा प्रचण्डका ‘घरबेटी’ले पाए मेलम्चीको ठेक्का

काठमाडौं, भदौ २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र खानेपानी मन्त्री रहेकी उनकी बुहारी बिना मगरको दबाबमा मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको ठेक्का शैलुङ कन्स्ट्रक्सनले पाएको छ।

शैलुङ कन्स्ट्रक्सन कम्पनी निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको निर्माणमा कम्पनी हो। जुन कम्पनीले ठूला ठेक्का पाएर पनि समयमा काम नसकेको भन्दै विवादमा पर्दै आएको छ। अधिकारी नेकपाका अध्यक्ष प्रचण्डसँग निकट सम्बन्ध भएका ठेकेदार हुन्। प्रचण्डलाई बस्नका लागि दिएको घर पनि ठेकेदार अधिकारीकै हो।

प्रचण्डकै दबाबमा अधिकारीको शैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको बुढानीलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का दिइएको हो। खानेपानी मन्त्रालयको जिम्मेवारी प्रचण्डकै बुहारी बिना मगरले सम्हालिरहेकी छिन्।

एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा अनामनगरस्थित आयोजना निर्देशनालय कार्यालयले शैलुङ कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको खुलेको छ। आयोजनाको जिम्मेवारी अधिकारीको कम्पनीलाई दिन प्रचण्ड र बुहारी मगरले निर्देशनालय कार्यालयका प्रमुखलाई दिन दबाब दिएका थिए।

स्रोतका अनुसार आयोजना निर्देशनालयलाई मन्त्री मगरले जसरी पनि अधिकारीको कम्पनीलाई निर्माणको जिम्मेवारी दिन निर्देशन दिएकी थिइन्। ‘अधिकारीको कम्पनीलाई नै दिनू भनेर मन्त्रालयबाट निर्देशन आएकाले हामीले उनीलाई नै दिन बाध्य भएका हौ,’ निर्देशनालयका एक कर्मचारीले भने।

उनका अनुसार विवादास्पद ठेकेदार अधिकारीको कम्पनीलाई दिन चौतर्फी दबाब आएको थियो।

तर, निर्देशनालयका सूचना अधिकारी मिलन कुमार शाक्यले भने मेलम्चीको पाइपलाइन विस्तारको काममा लागि सबैभन्दा कम रकम कबोलेका कारण शैलुङसँग सम्झौता गरिएको बताए।

३० महिनाभित्र काम सक्ने गरी शैलुङसँग निर्देशनालयले सम्झौता गरेको उनले बताए। सम्झौता अनुसार अधिकारीको कम्पनी शैलुङले पाइपलाइन विस्तारको काम सुरु गरिसकेको छ।

सम्झौता अनुसार शैलुङले बुढानीलकण्ठको आरुबारीमा ओभरहेड ट्यांकी बनाउने, कपन तथा बुढानिलकण्ठ क्षेत्रमा मेलम्ची आयोजनाको पाइपलाइन विस्तारको काम गर्ने छ।

तर, प्रचण्डका घरबेटी भनेर चिनिने अधिकारीको शैलुङ कम्पनी निर्माण क्षेत्रमा विवादस्पद कम्पनी हो। ठेक्का पाएर पनि समयमा काम नसक्ने र बदमासी गर्ने कम्पनीका रुपमा चिनिने शैलुङ कम्पनीलाई केहीसमय अघि गृहमन्त्री रामबहादुर थापा बादलले कारबाही गर्ने चेतावनी दिएका थिए।

गृह मन्त्रालयले निर्माण क्षेत्रमा बदमासी र लापरबाही गर्ने कम्पनीको सूची सार्वजनिक गर्दा अधिकारीको शैलुङ पनि परेको थियो। नेपालको कानूनतः प्रतिस्पर्धामा कम कबोल गर्ने कम्पनीसँग निर्माणका लागि ठेक्का सम्झौता हुने गर्छ। तर, प्रचण्डसँग निकट सम्बन्ध भएकै कारण ठेक्का लिने र काम समयमा नगर्ने कम्पनीका रुपमा शैलुङ कम्पनी पर्ने गरेको छ।

काठमाडौं उपत्यकाभित्र शैलुङले ९ सडक र तीन पुल ठेक्का लिएको छ। चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल, ललितपुरमा ५ वटा, भक्तपुर १ वटा सडक शैलुङसँग सम्झौता भएका छन्। तर, सम्झौता अनुसार शैलुङ कम्पनीले निर्माणको काम अघि बढाएको छैन।

Leave a Reply

Your email address will not be published.