Categories
ताजा समाचार

एटीएम चोरीकाण्डःदुई करोड रुपैयाँ लुट्ने योजनकारले स्पेनमा बसेर नेपालमा समूह परिचालन गरेको खुलासा,नाइके स्पेनमा रहेको बयान

१६ भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा ‘मालवेर’ आक्रमण गरेर करिब दुई करोड रुपैयाँ लुट्ने योजनकारले स्पेनमा बसेर नेपालमा समूह परिचालन गरेको खुलासा भएको छ । शनिबार मध्यराति काठमाडाैं प्रहरी परिसर, टेकुले चलाएको अपरेशनका क्रममा पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएका हुन् ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार स्पेनमा बसेर परिचालन गरे पनि ती व्यक्ति चिनियाँ नागरिक नै हुन् । शुक्रबार साँझ एयर चाइनाको उडानमार्फत काठमाडौं ओर्लिएका झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ नाइकेले भाडामा प्रयोग गरेका व्यक्तिमात्रै भएको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीले सीसीटीभी फुटेजको आधारमा अर्का एक चिनियाँ नागरिकलाई पनि विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुमध्ये अधिकांश पहिलो पटक नेपाल आएका हुन् । योजनाकारसँग भएको सहमतिअनुरुप उनीहरु शनिबार एटीएमबाट लाखौं निकालेपछि माया मनोहर बुटिक होटलबाट अन्यत्र सर्ने योजनामा थिए । आइतबार फर्किनलाई उनीहरुको टिकट थियो ।

स्रोतका अनुसार होटलमा बस्ने व्यवस्था पनि विदेशबाटै अनलाइन सिस्टमको प्रयोग गरेर भएको थियो । ‘यो सबै काम पनि स्पेनबाटै भएको हुनसक्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसतर्फ पनि अनुसन्धान गरिरहेका छांै । तर, यो पाटोको अनुसन्धान त्यति सहज भने छैन ।’

यो पनि पढ्नुहोस
एउटा चाबी, जसले खोल्यो चिनियाँ ह्याकरको रहस्य
पक्राउ परेकामध्ये लियांग प्रविधिमा समेत दख्खल राख्छन् । उनले नै स्पेनमा रहेका ‘मास्टरमाइन्ड’सँग ल्यापटपमार्फत कम्युनिकेट गर्ने गरेको देखिएको अनुसन्धान अधिकृत स्रोत बताउँछ । ‘विदेशमा रहेको व्यक्तिबाट प्राप्त कोडलाई नक्कली एटीएममा उनैले इन्स्टल गर्ने गरेको देखिएको छ’, एक अधिकृतले अनलाइनखबरसँग भने, ‘इन्स्टल गरेपछि सबै बाहिर एक्टिभेट भएको खुलेको छ ।’

अधिकृतहरुका अनुसार दुई समूहमा खटिएका व्यक्तिले झोलाभरि रकम ल्याउँदै कोठामा जम्मा गर्ने गरेका थिए । तर, दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमममा अस्वाभाविक रुपमा रकम निस्किएको देखिएपछि प्रहरीले यो समूहको योजना विफल पारिदिएको छ ।

प्रतिव्यक्ति १० हजार युआन र १० प्रतिशत कमिसन

अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका व्यक्तिलाई अपरेशन सफल बनाएर फर्किए प्रतिव्यक्ति १० हजार युआन दिने सहमति भएको थियो । सहमतिअनुसार नेपालबाट लुटिएको रकमको १० प्रतिशत कमिसन पनि दिने भनिएको थियो ।

‘प्लेन फेयर र खान–बस्न पनि उतैबाट व्यहोरेको देखिन्छ’, स्रोत भन्छ, ‘नेपाल पनि घुम्न पाइन्छ भनेर केटाहरु आएका रहेछन् ।’

बरामद रकम गन्दै अनुसन्धान अधिकृत ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार ह्याकरले बैंकिङ प्रणालीको स्वीचमै आक्रमण गरेर एक करोड ७६ लाख रुपैयाँ झिकेका थिए । यो रकम सर्वसाधारणको निक्षेपबाट भने नझिकिएको अधिकारीहरुको दाबी छ ।

प्रहरीले भने एक करोड २६ लाख २९ हजार रुपैयाँ मात्रै बरामद गरेको छ । बाँकी रकम फरार रहेका तीन जनासँग हुनसक्ने आशंका गरिएको छ ।

‘शनिबार रातभरि एटीएमबाट लुट मच्चाएपछि ब्ल्याक मार्केटमा डलर साटेर चीन लैजाने योजना रहेको देखिन्छ’, स्रोतले भन्यो, ‘हामी अलिकति मात्रै ढिला भएको भए सबै फुत्किसक्ने रहेछन् ।’

Leave a Reply

Your email address will not be published.