Categories
ताजा समाचार

पुल्चोक इञ्जिनीयरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन

यहाँकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले बताउनुभयो ।

भदौ ७ गते पुल्चोक इञ्जिनीयरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिलेसम्म उनको केही अत्तोपत्तो नलागेपछि आफूहरु चिन्तामा डुबेको आमा सरस्वती डोटेलले दुखेसो गर्नुभयो । सरस्वतीले भन्नुभयो “यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि यताउता कतै अत्तोपत्तो छैन, छिटोभन्दा छिटो छोरीको अत्तोपत्तो लाउन पाए हुन्थ्यो ।”

काठमाडौँबाट हराइरहेकी रेजिनाको पोखरा बागमारास्थित सेतीनदी किनार मझौरेघाटमा उनको कागजातसहितको झोला आइतबार फेला परेको बेपत्ता किशोरीका मामा दिवस भण्डारीले बताउनुभयो । दिवसले भन्नुभयो, “झोला तथा कागजात नदी किनारमा फेला परेकाले झोला भेटिएको स्थानदेखि तलतिरका ठाउँमा प्रहरी, स्थानीयवासी, परिवारजन तथा आफन्तहरुले निरन्तर खोजीकार्यलाई जारी राखेका छौँ ।”

मानसिक अवस्था तन्दुरुस्त रहेकी भाञ्जीले मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगसमेत नगर्ने गरेको दिवसले बताउनुभयो । रेजिना काठमाडौँस्थित गोल्टेनगेट कलेजमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत छात्रा हुन् ।

यो पनि हेर्नुहोस-राष्ट्रपतिद्वारा तीजको शुभकामना
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले साेमबार शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएका बताउनुभएको छ ।

सन्देशमा उहाँले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.