Categories
ताजा समाचार

१६ बाँदरको मृ’त्युको कारण खुल्यो (भिडियो सहित)

चौतारा । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी– १३, ठूलो सिरुवारीका पुष्पाखर दुलाल गत मंगलबार रुम्सीस्वाँरामा गोरु चराउँदै थिए । मध्यान्ह चार बजेतिर आफ्नो गोठ भन्दामाथिको महाकाँलेश्वर मन्दिरको गुठी खेतमा उनले बाँदरको हुल झुम्मिरहेको देखे ।

गाउँवस्ती भन्दा अलि टाढा जंगलले घेरिएको खेतमा बाँदरको हुल देखिनु नौलो कुरा थिएन । खेतमा धान रोपाइँ सकिसकेको थियो । पाँच बजे आसपासमा बाँदरहरू अनोठो आवाज निकालेर कराउन थाले । त्यसपछि पुष्पाखर गोठमा गोरु बाँधेर बाँदरको हुल खेलिरहेको खेततिर उक्ले । उनी पुग्दा पानी जम्मा गर्न बनाइएको ट्याङ्की वरिपरि झुम्मिएका बाँदर कराइरहेका थिए ।

सिमेन्टले प्लास्टर गरिएको ट्याङ्की नजिक जान भने दुलाल सकेनन् । ‘नजिक जान खोज्यो कि बाँदरहरू झम्टिन आइहाल्थे’ उनी भन्छन्, ‘त्यतिबेलासम्म ट्याङ्कीभित्र एउटा बाँदर फसिसकेको रहेछ, फसेको साथीलाई मार्ला भनेर हो कि किन हो ? अरुबेला भन्दा आक्रमक भएर झम्टिन आए ।’

७५ वर्षीय पुष्पाखर जोड–जोडले चिच्याउन थालेपछि स्थानीय क्षेत्रबहादुर दुलाल पनि त्यहाँ आए । नजिकै गोठ भएका होमनाथ चौलागाई पनि आइपुगेपछि बाँदर केही हच्किएजस्तो देखियो ।

‘ट्याङ्कीभित्र पुग्दा माछा जस्तै बाँदरहरू यताबाट उता, उताबाट हुलुलु–हुलुलु गरिरहेका थिए’ ७४ वर्षीय क्षेत्रबहादुरले अनलाइनखबरसँग भने ।बाँदरबाट पीडित भएकाले होला उपस्थितमध्ये एक जनाले ट्यांकीभित्रै ढुंगाले हानेर मारौं भन्न पनि भ्याए ।

पानीले निथ्रुक भिजेका, ढाडमा बच्चासमेत बोकेका बाँदरहरूको अनुहार देखेपछि गाउँलेको मन पग्लियो । उनीहरू बाँदरलाई त्यहाँबाट निकाल्नुपर्छ भन्नेमा पुगे । तर, बाँदरले टोक्ला भनेर ट्याङ्कीमा पस्ने आँट भने कसैले गरेनन् ।

तर, गोठबाट ५÷६ फिट अग्लो बाँस ल्याएर बाँदर निकाल्न शुरु गरे । ‘शुरुमा डराएका बाँदरहरू केहीबेरपछि भने त्यो बाँसमा समाउन आए’ क्षेत्रबहादुर भन्छन्, ‘बाँसमा समात्न आएका मध्ये ६ वटालाई पालैपालो बाहिर निकाल्यौं ।’

साँझ पर्न थालेपछि त्यही बाँसलाई ट्याङ्कीमा भर्‍याङ जस्तो बनाएर छाडियो । तीनैजना आ–आफ्नो घर फर्किए ।

‘त्यसको भोलिपल्ट बिहान पुग्दा त्यहाँ १६ वटा बाँदर मरिसकेका रहेछन्’ साविक ठूलोसिरुवारीका पूर्वगाविस अध्यक्ष समेत रहेका क्षेत्रबहादुरले भने, ‘दुईवटा बाँदर एउटा ठूलो जिउँदो बाँदरको ढाडमा चढेर बसेका थिए, ती तीनवटैलाई निकालियो ।’

बाँदरको सामूहिक आ’त्मह’त्या ?

बाँदर मरेको तस्वीर फेसबुकमा सार्वजनिक भएपछि बाँदरले ‘सामुहिक आ’त्मह’त्या’ गरेको हल्ला चल्यो । कतिपयले बाँदर निराश भएर आ’त्मह’त्या गरेको भन्न भ्याए । कतिले पानीमा आफ्नै छाँया देखेर पोखरीमा हामफालेको अड्काल काटे । कतिले शुरुमा डुबेको बाँदरलाई बचाउन जाँदा अरु बाँदर मरेको हुन सक्ने सही अनुमान लगाए ।

द टाइम्स पत्रिकाले १९३२ मै एउटा बाँदरको आ’त्मह’त्या सम्बन्धी समाचार प्रकाशित गरेको थियो । इलेस्ट्रेटेड लण्डन न्युजले १८४५ मा कालो कुकुरको आ’त्मह’त्या सम्बन्धी समाचार छापेको थियो । संसारभरि नै बेलाबेलामा यस्ता समाचार आइरहन्छन् ।

तर, प्राणीशास्त्रीहरू भने अहिलेसम्मको अध्ययनअनुसार जनावरले आत्महत्या नै नगर्ने बताउँछन् ।

‘बाँदरले मात्रै होइन, कुनै पनि जनावरले आ’त्मह’त्या गर्दैन’ बाँदरको विषयमा विद्यावारिधि गरेका प्राणीशास्त्री मुकेश चालिसे भन्छन्, ‘आ’त्मह’त्या नै नगर्ने भएपछि सामूहिक आ’त्मह’त्या गर्‍यो होला भन्ने त झन कुरै भएन ।’

डा. चालिसेका अनुसार एकै ठाउँमा धेरै बाँदर मरेको हुनाले सामूहिक आ’त्मह’त्या होे कि भनेर अनुमान गरिएको मात्रै हो । बाँदरलगायतका जनावरले आ’त्मह’त्या मात्रै होइन, बला’त्कार, ठगी, सामूहिक अनुशासन उल्लंघन पनि कहिल्यै नगर्ने उनी बताउँछन् ।

धराप होइन

चौतारा साँगाचोकगढी–१३, कोटडाँडाका ८४ वर्षीय टेकबहादुर थापा त्यसक्षेत्रमा केही वर्षयतामात्रै रातो रंगका बाँदर देखिएको बताउँछन् । आफू सानो हुँदा फाट्टफुट्ट मात्रामा सेतो बाँदर मात्रै देखिएको उनको अनुभव छ ।

पछिल्लो पाँच÷छ वर्षदेखि बाँदरले बाली खाएर कृषकहरूलाई सताउनु सताएको थापा बताउँछन् । उनी भन्छन्, ‘बालीनाली सखाप पार्ने मात्रै होइन, महिला र बालबालिकालाई त बाँदरले पटक–पटक आक्रमण नै गरिसकेको छ ।’

बाँदरकै कारण धेरै कृषकले हिउँदे बाली लगाउन छाडेको थापाले जानकारी दिए । उनी भन्छन्, ‘हरेकजसो घरबाट एकजना त बाँदर कुर्न जानैपर्छ ।’

बाँदर पीडित किसानहरूले ट्याङ्कीमा खसालेर मारे कि, विष खुवाए कि वा करेन्ट लगाएर मारे कि भन्ने एकथरीको आशंका देखिन्छ । तर, उद्धारकर्ता, प्रत्यक्षदर्शी र जनप्रतिनिधिहरूसँग कुराकानी गर्दा किसानहरूले त्यहाँ बाँदर मार्न खोजेको बुझिँदैन ।

भोलिपल्ट (बुधबार) बिहानसमेत तीनवटा बाँदरको उद्धार गरिएकाले त्यहाँ करेन्ट हुने सम्भावना देखिँदैन । बरु, उद्धारमा भने बेलैमा आवश्यक ध्यान पुग्न सकेको देखिँदैन । किनभने, पोखरीको पानी भोलिपल्ट मात्रै खाली गरिएको थियो ।

वडाध्यक्ष रामप्रसाद गौतम भने कतिपय विश्लेषकले स्थानीयलाई अनावश्यक आरोप लगाएको गुनासो पोख्छन् । ‘बाँदर मरेको स्थानमै नपुगी विश्लेषण गर्नु कति वस्तुगत र जायज हो ?’ गौतम भन्छन्, ‘घट्नास्थानमा पुगेर हेर्ने हो भने वास्तविक थाहा पाउन सजिलो हुन्छ ।’

बाँदरको मृ’त्युको कारण

१६ वटा बाँदरको म’रेको स्थान काठमाडौंबाट ८० किलोमिटर पूर्वमा पर्छ । त्यस क्षेत्रमा किसानहरूले खेतमा लगाउने उद्देश्यले पानी जम्मा गर्न सिमेन्टले प्लास्टर गरेर ट्याङ्की बनाउने गरेका छन् ।त्यसै मध्येको एउटा ट्याङ्कीमा गत मंगलबार २५ बाँदर खसेका थिए । पुन नपुग पाँच फिट गहिरो पोखरीमा त्यो दिन आधाजति पानी थियो।

‘पानीभित्र पसिसकेपछि उफ्रनका लागि जमिनमा टेक्न नसकेको र भित्तोको माथिल्लो भागलाई समात्न पनि नसकेको हुँदा ती बाँदर म’रेका हुन सक्छन्’ प्राणीशास्त्री डा. चालिसे भन्छन्, ‘धेरै लामो समय पौडी खेलेरै बस्नुपर्‍यो भने गलेर पानीमा डुब्ने सम्भावना हुन्छ ।’

उद्धारकर्ता क्षेत्रबहादुर पानीले गर्दा भित्तो चिप्लो भएर बाँदर बाहिर निस्कन नसकेको बताउँछन् । उनी भन्छन्, ‘ट्याङ्की पुरै भरिएको भए पनि बाँदर नम’र्ने रहेछ ।’

सरोकारवालाको वेवास्ता

बाँदर मरेको विषयमा स्थानीयले तुरुन्तै जिल्ला वन कार्यालयमा खबर गरेका थिए । तर, एउटै नगरपालिकाभित्र त्यत्रो बाँदर म’रेको खबर पुग्दा पनि वन कार्यालयका अधिकारीहरूले वास्ता गरेनन् ।

‘२० किलोमिटरको दुरीमा रहेको वन कार्यालय (चौतारा)बाट कोही नआएपछि हामीले ट्याङ्कीकै छेउमा खनेर गाड्यौं’, एक स्थानीय भन्छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार बाँदर संरक्षित वन्यजन्तुमा पर्छ । ऐनले बाँदरसहित २७ थरी स्तनधारी जनावरलाई संरक्षितको सूचीमा राखेको छ । कानूनमा बाँदर मार्नेलाई एकदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि पाँच वर्षसम्म कैदको व्यवस्था छ ।

विश्वमा पाइने २३४ मध्ये नेपाल नेपाल ६ प्रजातिका बाँदर पाइन्छन् । डा. चालिसेका अनुसार नेपालभरि पाइने राता बाँदर एउटै प्रजातिका हुन् । हेर्दा रातो बाँदरजस्तै देखिने तर मुख र चाक रातो नभएका बाँदरलाई रातो बाँदर भनिन्छ ।

जनावरले आत्महत्या गर्दैन : प्राणीशास्त्री डा. चालिसे

संसारमा रहेका पाँच हजार भन्दा स्तनधारी जनावर र सबै किरा फट्याङ्ग्राहरू एक अर्कामा फरक छन् । रातो बाँदरको उत्पत्ति चालिस हजार वर्ष भन्दा अगाडि भएको हो । त्यतिबेलामा मान्छेको उत्पत्ति भइसकेको थिएन ।

पुच्छर भएका २५९ र पुच्छर नभएका पाँच प्रजातिका बाँदर भए । पुच्छर नभएका मध्ये चारवटा प्रजातिका बाँदरहरू अझै पनि जंगलमा छन् । अर्को एउटा प्रजाति शहर र गाउँघरमा बस्छन् । त्यो प्रजाति भनेको मानिस हो ।

चिम्पाञ्जी मान्छेको सबै भन्दा नजिकको जनावरमा पर्छ । मश्तिष्क क्षमताबाहेक बाँदरसँग हाम्रो ९८ प्रतिशत कुरा मिल्छ । उसको क्रियाकलाप, मायाप्रेम, पारिवारिक स्नेह, खानेखोज्ने र प्रयोग गर्ने धेरै कुरा मान्छेसँग मिल्छ । त्यही भएर जीवविज्ञानको अध्ययनमा रातो बाँधदर, चिम्पान्जीलाई प्रयोग गरेको पाईन्छ ।

आजसम्मको वैज्ञानिक तथ्यले के भन्छ भने मानिससँग जीवित प्राणी मध्ये मानिससँग मात्रै भिन्न खालका र अतिरञ्जित खालका व्यवहार देखिन्छ । मानिसको भाषा छ तर अरु प्राणीले संवादका लागि आवाज र इसाराको प्रयोग गर्छन् ।

मानिस बलात्कार गर्नसक्छ । संसारमा अरु कसैले बलात्कार गर्दैन । जनावरले मानिसले जस्तो धुत्र्याई गर्दैन । आफ्नै समूहका लागि ठग्दैन, धोका दिँदैन, सामूहिक अनुशासन उल्लंघन गर्दैन ।

एकै ठाउँमा मरेको हुनाले सामूहिक आ’त्मह’त्या गर्‍यो कि भन्ने लाग्नसक्छ । तर जनावरले कहिल्यै पनि आत्महत्या गर्दैन ।

दश वर्ष अगाडि पशुपतिमा एउटा बाँदरलाई करेन्ट लाग्यो । त्यो समूहका चार बाँदर मध्ये २५–३० वटा बाँदरको मृत्यु भयो । करेन्ट लागेकालाई बचाउन जाँदा अरु बाँधर पनि मरे । तर त्यो पनि आत्महत्या थिएन । संसारमा यस्ता उदाहरण अन्त पनि छन् ।

थापाथली क्षेत्रमै बाँदर खसेर, करेन्ट लागेर मर्दा एक ठाउँमा जम्मा भएर शोक मनाउँछन् । थापाथलीकै कुरा गर्दा सञ्चार माध्यमले ट्राफिक प्रहरीले जुलुस निकालेर ट्राफिक अवागमन अवरुद्ध पार्‍यो भनेर लेखे । त्यो सरासर गलत थियो । शोक मनाउन जम्मा भएका थिए ।

अगाडि भेडा मर्‍यो भने अरु भेडामा पनि मर्न जान्छ भनिन्छ नि । त्यो पनि गलत हो । आफ्नो साथी अगाडि गएको हुनाले सुरक्षित होला भनेर गएको हो। सुरक्षित नभएको कारणले मरेको हुन्छ, आत्महत्या गरेर होइन ।

१९८३–८४ तीर लाङटाङमा कस्तुरी मृग भीरबाट लडेर मरेको थियो । त्यतिबेला पनि मान्छेहरू मृग भीरबाट लडेर मर्छ र भनेर छक्क परेका थिए । भएको के थियो भने हिउँ चितुवाले लखेट्दा चट्टानी भूभागमा उभिन नसकेर खसेर मरेको थियो ।

जसरी भूकम्पका बेला ज्यान जोगाउन भाग्दा मरेकोलाई त आत्महत्या भनिँदैन ठीक त्यसै गरी ती बाँदरले सामूहिक आत्महत्या गरे भन्ने कुरा पनि मिल्दैन ।

साढे चार, पाँच फिट अग्लो ट्याङ्कीमा आधा पानी, प्लास्टरे चिप्लो भित्तो र समात्न सकेन भने बाहिर निस्कन नसक्ने सम्भावना छ । तर, बाँदर यति चलाक हुन्छ की अर्काको ढाडमा टेकेर पनि उफ्रिन सक्छ ।

कँही कतै विषालु पदार्थ खाएर, तिर्खा लगाएर त्यो पोखरीमा हाम फालेका हुन् कि ? वा पानी भित्र पसिसकेपछि जमिनमा गएर उफ्रनलाई र आधा पानी हुँदा भित्तोको माथिल्लो भागलाई समात्न नसकेको हुन सक्ने सम्भावना प्रवल छ । त्यस्तो अवस्थामा धेरै बेर पौडी खेलेर बस्नुपर्ने अवस्था भयो भने पनि मर्न सक्ने सम्भावना हुन्छ । तर, एकैचोटि १५–१६ बाँदर कसरी मरे भन्ने अचम्म र आशंकाको विषय हो । ट्याङ्कीबाट पानी निकाल्न सकिने अवस्था रहेछ । तुरुन्तै पानी किन निकालिएन होला भन्ने लागेको छ ।

एउटै पोखरीमा १६ वटा बाँदर मर्नु राम्रो कुरा होइन । मान्छेले आफ्नो उपयोगका लागि बनाएको त्यो पोखरीबाट जनावरलाई बचाउन विभिन्न तार जाली लगाउन सकिन्छ । अहिले बाँदर पर्‍यो भोलि बालबालिका नपरोस भन्नका लागि पनि सुरक्षित गर्नु जरुरी छ । पोस्टमार्टम गर्‍यो भने विषादी प्रयोग भएको छ भने पत्ता लाग्छ । सरोकारवालाले अनुसन्धान गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published.