सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो ।सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो ।
त्यति बेला सरकारले विशिष्ट पदाधिकारीकारीको वृद्धि गरेको थिएन । पदाधिकारीको सेवा सुविधा छुट्टै ऐनका आधारमा तोकिने भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो । स्रोतअनुसार राष्ट्रध्यक्षको तलब मासिक २७ हजार ८१ लाख रुपैयाँ बढेको छ । राष्ट्रपतिको तलब १ लाख ५० हजार ४०० बाट बढेर १ लाख ७७ हजार ५३१ पुगेको छ । उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख १५ हजार ११५ पुगेको छ ।त्यसैगरी प्रधानमन्त्रीको तलव ७७ हजार २८० बाट बढेर ९१ हजार १९० पुगेको छ ।
प्रधानन्यायाधीशको तलब मासिक १३ हजार २ सय ६२ रुपैयाँ बढेको छ । प्रधानन्यायाधीशको तलब ७३ हजार ६ सय ८० बाट ८६ हजार ९ सय ४२ रुपैयाँ पुगेको छ । सभामुख र राष्ट्रिय सभा अध्यक्षको तलब मासिक १२ हजार १ सय १७ रुपैयाँ बढेको छ । उनीहरूको तलब मासिक ६७ हजार ३ सय २० बाट ७९ हजार ४ सय ३८ रुपैयाँ पुगेको छ । उपप्रधानमन्त्रीको तलब मासिक ११ हजार ७ सय ३६ रुपैयाँ बढदा ७६ हजार ९ सय ३६ रुपैयाँ पुगेको छ ।
मन्त्री, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, सत्तारूढ दलका प्रमुख सचेतक, सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ताको तलबमा मासिक १० हजार ९ सय ७५ रुपैयाँ वृद्धि भएको छ । समान सेवासुविधा भएका उनीहरूको तलब ६० हजार ९ सय ७० बाट बढेर ७१ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।
राज्यमन्त्री, प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिका सभापतिहरू, प्रतिपक्षी दलका प्रमुख सचेतक, सत्तारूढ दलका सचेतक र संवैधानिक निकायका प्रमुख तथा योजना आयोगका उपाध्यक्षको तलबमा मासिक १० हजार ४ सय रुपैयाँ वृद्धि भएको छ । समान सेवासुविधा हुने उनीहरूको तलब ५७ हजार ७ सय ८० बाट बढेर ६८ हजार १ सय ८० रुपैयाँ पुगेको छ । त्यस्तै सहायक मन्त्रीको तलबमा १० हजार १ सय ६८ रुपैयाँ बढदा मासिक ५६ हजार ४ सय ९० बाट ६६ हजार ६ सय ५८ रुपैयाँ पुगेको छ ।
यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।
यो पनि पढ्नुहोस लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका थिए ।
फलस्वरुप उनी तीन महिनाको प्रतिबन्धमा परेका हुन् । दक्षिण अमेरिकी फुटबल संघले उनी माथि ५० हजार डलर जरिवाना पनि लगाइएको छ । तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले आफूमाथिको सजायविरुद्ध आगामी एक साताभित्र अपिल भने गर्न सक्ने छन् ।
प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने छन् । तर मेस्सीले क्लब फुटबल भने निरन्तर खेल्ने छन् ।