Categories
ताजा समाचार

नेपालमा पाइपलाइनबाट भित्रियो डिजेल

सिमरा, ३ साउन । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परीक्षण शुक्रवार सम्पन्न भएको छ । योजनाको पहिलो परीक्षण शुक्रबार बिहान ६ बजे सम्पनन भएको जनाइएको छ ।

बुधवारवाट सुरु भएको पाइपलाइनको परीक्षणको काम शुक्रवार सम्पन्न भएको हो । भारतको पटनाबाट सुरुमा पानी पठाएर पानीले सफा गरेपछि मात्र त्यसमा डिजेल पठाएको पाइपलाइन प्राविधिक प्रमुख प्रदीप यादवले जानकारी दिए ।

भारतीय लगानीमा बनेको मोतिहारीअमलेखगन्ज क्रसबोर्डर पाइपलाइनबाट पहिलो पटक नेपालमा पेट्रोलियम पद्धार्थ आएको नेपाल आयल निगमले जनाएको छ ।

डिजेल पठाउनु अघि आइओसीले दुईदिनदेखि पानी पठाएर पाइपको फोहोर सफा गर्नुका साथै चुहावट भएनभएको परीक्षण गरेको थियो । उक्त परीक्षणमा कतै चुहावट नभएपछि डिजेल पठाएर पाइपलाइन पहिलोपटक संचालनमा ल्याइएको परियोजनाले जनाएको छ ।

पाइपलाइनबाट पेट्रोलियम पद्धार्थ पक्रियागत रुपमा भित्रिन भने केही समय लाग्ने छ । यो परीक्षण सफल भएसँगै तोकिएको समयभन्दा झन्डै आधा समय अगावै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउने भएको छ । यो आयोजना ३० महिनामा तयार गर्ने गरी १५ महिना अघि सुरु गरिएको थियो ।

बुधबार भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनमा परीक्षणका लागि सो डिजेल पठाइएको थियो । इन्जिनियर पौडेलका आनुसार आजै बिहान ७ बजे मोतीहारीबाट पठाइएको ६ हजार लिटर पानी अमलेखगन्जमा आईपुगेको थियो । पाइपलाइनबाट पानी खसिसकेपछि अहिले डिपोमा रहेको चार वटा ट्याङ्कीमा एक हजार लिटर डिजेल भरिदै गरिएको पौडेलले बताए ।

‘एक हजार लिटर डिजेल ट्याङ्कीमा खसिसके पछि अहिलेलाई पाइप बन्द गरिन्छ,’ उनले भने, ‘पाइपलाइनको औपचारीक उद्घाटनपछि मात्रै व्यवसायिकरुपमा तेल आउन सुरु हुन्छ ।’

पाइपलाइनको उद्घाटन कहिले गर्ने भन्ने तय भएको छैन । उद्घाटन नभएसम्मका लागि पाइपमा तेल भरीराख्न थप २१ हजार लिटर तेल पठाइने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि यतिबेला अमलेखगन्जमा छ ।

नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल-भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सम्झौताको एक दशकसम्म बिबिध कारण सुरु हुन नसकेको उक्त परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो ।

तत्काल पाइपलाइन निर्माणका लागि तत्कालीन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच काठमाडौंमा सम्झौता भएको थियो ।

सम्झौताको दुई वर्षपछि २०७४ पुसबाट भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाईन निर्माण थाल्यो । निर्माण सुरु भएको अठार महिनापछि गत असारमा पाइपलाइन निर्माणको कार्य सकिएको हो ।

पूर्वनिर्धारित समयभन्दा १५ महिना अगावै पाइपलाइन निर्माण सम्पन्न भएको छ । कुल ६९.२ किलोमिटर लामो पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । उक्त पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन सक्छ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने अमलेखगन्ज डिपो प्रमुख यादव बताउँछन् ।

अमलेखगन्ज डिपोमा पेट्रोल राख्नका लागि ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजल मात्रै आयात गरिने आयल निगमले जनाएको छ ।

भारतको बरौनी डिपोबाट गुणस्तर प्रमाणित भएर पाइपमार्फत आएको तेलको अमलेखगन्जमा पुनः गुणस्तर परीक्षण गरेर मात्रै निगमले वितरण गर्ने यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.