Categories
ताजा समाचार

कमला खोलामा आएको बाढी*ले बगा*यो,यस्तो छ उनको बा*ढी अनुभव जस्ताको तस्तै

राजविराज- सिरहाको कल्याणपुर नगरपालिका-४, जमुवा परासीका ५५ वर्षीय कामेश्वर यादव बाढीमा बेपत्ता बने। उनलाई २८ गते उज्यालो हुनु अगावै कमला खोलामा आएको बाढीले बगायो। डुङ्गा चलाउने पेशा गर्दै आएका कामेश्वरको डुंगा दुई दिनपछि ४ किलोमिटर दक्षिण कल्याणपुर-५ स्थित हथमुन्डा भन्ने स्थानमा फेला पर्‍यो।

डुङ्गा पनि पल्टिएको अवस्थामा फेला परेपछि कामेश्वरको मृत्यु भएको अनुमान गरे। परिवारका सदस्यले शव खोजी सुरू गरे।

यही बेला करिब ५० घन्टापछि उनी जीवितै भएको खबर आयो। भारतको मधुवनी जिल्लास्थित जयनगर क्षेत्रबाट उद्धार गरिएका उनी ३० गते नै नेपाल फर्किएका छन्।

२० किलोमिटरसम्म बाढीले बगाएर पनि जिवितै घर फर्केका कामेश्वरले सोमबार सप्तरीको चोहर्वास्थित रेडक्रसको भवनमा आयोजित एक कार्यक्रममा सहभागी भए। त्यहाँ उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र सिरहाका सिडिओ गोपालकुमार अधिकारीसँग पनि भेट गरे।

उनलाई भेट्न आउनेको मानिसको लर्को छ भने घटनाबारे बुझ्न खोज्ने पनि धेरै छन्। हामीले पनि कामेश्वरसँग सम्पर्क गरेका थियौं।

यस्तो छ उनको बाढी अनुभव जस्ताको तस्तै-
म कमला नदीको चिकना घाटमा डुङ्गा चलाउँछु। मानिसहरु वारपार गराउने मेरो काम हो। २७ गते राती धेरै पानी परेपछि डुङ्गा बगाउला भनेर चिन्ता लाग्यो। हतार-हतार गर्दै घाटतिर लागें। करिब साढे २ बजे खोलामा पुग्दा बाढी बढेको थियो। डुङ्गा बाँधेको डोरी खोल्न थालें।

डोरी खोल्दाखोल्दै अचानक नदीको सतह बढ्न थाल्यो। बाढीले ठेल्न थालेपछि डुङ्गा छोडेर ज्यान बचाउन प्रयास गरें। तर, जति नै प्रयास गरेपनि बाहिर निस्कन सकिनँ।

बाढीले मलाई पानीको भंगालोमा हुत्यायो। अलिअलि मात्रै पौडिन जान्दछु। तर एक जमानाको खेलाडी (पहलमान) भएका कारण हिम्मत भने हारीनँ। अँध्यारोमा खोलाले जता बगाएपनि जसोतसो ज्यान बचाउने प्रयत्न गरिरहें।

धेरै कुरा सम्झन सक्दिनँ, तर बाढीको वेगमा किनारातिर निस्कने प्रयास गर्दागर्दै जिउ गलेर थिलथिलो भएको थियो। बिहान अन्दाजी करिब साढे ४ बजेको हुँदो हो, अचानक जयनगर नजिकै पुलमा भएको फाटक याद आयो। त्यसपछि भने बाँच्ने आश हरायो। त्यही फाटकमा चेपिएर मर्छु होला भन्ने लागेपछि म आत्तिएँ। कमला माईलाई गुहार गरें।

‘हे कमला माई अब म तिम्रै शरणमा छु, मलाई बचाईदेऊ’ भनेर कल्पना गरेपछि अचानक हातखुट्टा बाँधिएको अनुभुति भयो। आफूसँगै सर्प पनि बगिरहेको देखें। एकातर्फ डर लागिरहेकै थियो भने अर्कोतर्फ कमला माईले सहयोगी पठाएको जस्तो पनि लाग्यो।

डर, त्रास र विभिन्न कल्पना गर्दागर्दै मलाई बाढिले पुल मुनी (फाटक) पुर्‍याएछ। करिब ९ किलोमिटर दक्षिण पुगेपछि कमला नदी दुई भंगालोमा बाँडिन्छ। ठूलो भंगालो कोशीमा मिसिन्छ।

धन्न बाढीले मलाई सानो भंगालोमा धकेलिदियो। सानो भंगालोमा परेपछि बाढीको वेग कम भयो। म निकै प्रयास गरेर बाहिर निस्कन सफल भएँ। यति गर्दा उज्यालो भइसकेको थियो।

थकानले गर्दा हिड्न सक्ने अवस्था थिएन। वरिपरि देखिएका स्थानीयबासीलाई आफूलाई बाढीले बगाएर ल्याएको विषयमा बताएपछि उनीहरुले मलाई गाउँमा लगेर औषधी उपचार गरे।

चिसोले जिउ कामिरहेको थियो। उनीहरूले नै आगो बालेर सेकाए। सोधखोज हुँदै गर्दा अस्राही गाउँमा रहेकी मेरी साली (इन्दिला यादव)को परिवारलाई थाहा भयो। मलाई बाढीले बेपत्ता पारेको खबर सुनेका उनीहरू मलाई हेर्न आए। त्यसपछि २८ र २९ गते उतै बसें। ३० गते भतिजा मोहितसहित गाउँका धेरै मान्छे मोटरसाइकलसहित पुगेर मलाई उद्धार गरे।

मेरो बारेमा जानकारी पाउनेले कसरी बाँच्यो भन्दा हुन्। मलाई पनि त्यस्तै लागिरहेको छ। ‘म कसरी बाँचे?’ तर, आफैंले मरें भनेर आश मारेको मान्छे घर फर्किन पाउँदा दोश्रो जन्म पाएको महसुस भइरहेको छ।

Leave a Reply

Your email address will not be published.