Categories
ताजा समाचार

काठमाडौंको धुलोमा क्यान्सर गराउने–स्मरण शक्ति घटाउने धातु फेला

२० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गत शनिबार मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा व्यक्त मास्कसम्बन्धी धारणा अहिलेसम्म व्यापक चर्चामा छ । उनले भनेका थिए, ‘म प्रधानमन्त्री हुँदा आधा जनसंख्या मास्क लगाएर हिँड्थे, अहिले मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’

अध्ययनहरूले भने साँच्चै प्रधानमन्त्रीले भने जसरी काठमाडौंमा मास्क नलगाई हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुने निश्कर्ष निकालेका छन् ।

नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) ले हालै गरेको अध्ययन अनुसार काठमाडौंको धुलोमा क्यान्सर गराउने–स्मरण शक्ति घटाउने धातु फेला परेको छ ।

नास्टको विज्ञान संकायका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्त नेतृत्वको टीमले गत जेठमा गरेको अप्रकाशित अध्ययनले धुलोमा स्वास्थ्यलाई असर गर्ने विभिन्न धातु फेला परेको निश्कर्ष निकालेको हो ।

प्रतिग्राम धुलोमा औसतमा तामा ६.१ माइक्रोग्राम, फलाम ४१३० माइक्रोग्राम, निकेल १०.५ माइक्रोग्राम, शिशा २० माइक्रोग्राम र जस्ता (जिंक) १२९ माइक्रोग्राम भेटिएको डा. पन्तले अनलाइनखबरलाई जानकारी दिए । उनको टोलीले काठमाडौं रिङरोडको २७ किलोमिटर दुरीका ४० स्थानबाट नमुना संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.