Categories
ताजा समाचार

रामेछापमा जीप दुर्घटनामा एक जनाको मृत्यु

रामेछापमा भएको बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान  लिखु तामाकोशी गाउँपालिका वडा नं १ स्थित तेर्सेमा ना ४ च ६२०५ नं को बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटनामा चालक क्याल्बु तामाङको मृत्यु भएको छ । जीपमा सवार वडाअध्यक्ष निङ्मार तामाङ गम्भीर घाइते रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मोहोडामा जिप नमोडिएपछि चालक र वडाध्यक्ष दुबै हाम फालेका थिए।  चालक हाम फालेकैतिर जिप पल्तिएपछि उनको ज्यान गएको हो ।

यो पनि हेर्नुहोस 

निद्रा नलाग्ने मुख्य कारण के के हुन्?

निद्रा हाम्रा लागि अपरिहार्य भए पनि कहिलेकाहीँ हामी निदाउन सक्देनौं। अहिले मान्छेहरुमा निद्रा नलाग्ने समस्या निकै बढेको छ।

निद्रा नलाग्नुका थुप्रै कारण भए पनि यो आफैंमा एउटा रोग पनि हो, जसलाई इन्सोमेनिया भनिन्छ।

इन्सोमेनिया बाहेक निद्रा कुनै रोगको लक्षणको रुपमा पनि आउँछ। कोहीलाई भने निद्रा नलाग्ने मात्रै पनि हुनसक्छ।

यस्ता व्यक्तिलाई एन्जाइटी डिप्रेसनको समस्या हुँदैन। तर, बिहान उठ्दा तनाव भएझैं, आराम नपुगेको जस्तो र थाकेको जस्तो हुनुका साथै दिनभरी छटपटि हुन्छ। उसलाई खान पनि मन लाग्दैन भने सानो कुरामा पनि रिसाउँछ। यी सबै अनिद्राका कारणले हुन्छ।

कोही मान्छे आठ घण्टाभन्दा बढी सुतेर पनि निद्रा नपुगेको बताउँछन्। ऊ धेरै समय सुतेको छ भन्दैमा उसको निद्रा ठीक छ भन्न मिल्दैन।

कोही मान्छे चार घण्टा सुतेर पनि एकदम फ्रेस भएको अनुभव गर्छन्। मान्छेको व्यक्तित्व र आनीबानीअनुसार कसैलाई धेरै सुत्न पर्छ, कसैलाई थोरै।

‘टाइप ए पर्सनालिटी’ भएकाहरु प्रायः कम सुत्छन्। उनीहरु धेरै महत्वकांक्षी हुन्छन्। ‘टाइप बी पर्सनालिटी’ भएका मान्छेहरु बढी सुत्ने हुन्छन्।

तर, शरीरलाई नपुग्ने गरी लगातार लामो समय अनिद्रा भइराखे डिप्रेशन र एन्जाइटी बढ्न सक्छ।

निद्राको समस्या राति काम गर्नेलाई बढी हुन्छ। साविकको भन्दा फरक समय भएको विदेश काम गर्न जानेमा यो समस्या बढी हुन्छ। आफ्नो चलिरहेको समयभन्दा बाहिर गएपछि मस्तिष्कले कुन बेला उठ्ने र सुत्ने भन्ने कुरामा अलमल पर्छ। मस्तिष्क अलमल भएपछि स्वतः निद्रा बिग्रने र अनिद्रा बढ्ने समस्या हुन्छ।

निद्रा नलाग्ने मुख्य कारण के के हुन्?

नेपालबाट विदेशमा काम गर्न जानेले महिनौं यस्तो समस्या भोगेका हुन्छन्। यो समस्या बढ्दै गएपछि उनीहरुमा तनाव बढेजस्तो हुने, डर लाग्ने र मुटु काम्ने हुन थाल्छ। यही भयले कतिपय नेपाल नै फर्किएका पनि छन्।

डिप्रेसन हुँदा निद्रा लाग्दैन। दिक्क लाग्ने, निराश हुने हुँदै साँझ परेपछि मनमा कुरा खेल्न थाल्छन्। अनेक कुरा श्रृंखलाबद्ध रुपमा आइ नै रहन्छन्, जसले झनै दिमाग सक्रिय हुन्छ। अनि त सुत्न खोजे पनि निद्रा आउँदैन। निद्रा नलाग्ने समस्या बढेपछि र यसले मान्छेलाई असर गर्न थालेपछि बल्ल ऊ चिकित्सक भेट्छ। यहाँसम्म आइपुग्दा कतिपयले आफ्नो कामधाम छाडिसकेका हुन्छन्।

एन्जाइटीका कारणले पनि निद्रा लाग्दैन। सुत्न बेला बत्ती निभायो, मन डराउन थाल्छ। मुटु ढुक–ढुक हुन्छ र सास फेर्न गाह्रो भएर निस्सासिएको झैं हुन्छ। अँध्यारोमा डराउने हुँदा एन्जाइटी भएको मान्छे सुत्न सक्दैन।

रक्सी पनि निद्रा नलाग्ने अर्को कारण हो।

रक्सीको लत लागेका बिरामीलाई छोड्नुस् भन्यो भने नखाई त निद्रै लाग्दैन भन्छन्। यहाँ बिरामीले के बुझ्दैन भने उसलाई पहिलादेखि नै मानसिक समस्या छन्। रक्सी नखाई नहुनु पनि मानसिक समस्या नै हो।

रक्सी खाएर निदाउने बानी परेकाको नशा उत्रिन साथ निद्रा पनि उत्रिन्छ। निदाउने सहारा मान्दै आएको रक्सीले नै उसको निद्रा बिगार्दै गइरहेको उसले पत्तो पाउँदैन। ऊ रक्सी खाएर दुईचार घण्टा निदाएँ भन्छ तर, नखाँदा ८ घण्टा सुत्थ्यो भन्ने कुरा बिर्सन्छ। रक्सीले शरीरमा आफ्नो प्रभुत्व जमाउँदै गएपछि उसको स्मरण क्षमता पनि घट्दै गएको हुन्छ।

न्युरो ट्रन्समिसन’ मा हुने गडबडीका कारणले निद्रा नलाग्ने समस्या हुन्छ।

मान्छेको जीवनशैलीले पनि अनिद्रा समस्या बढाएको छ। खासगरी विद्यार्थीहरु अनिद्राका कारण कलेज नै जान नसकेका उदाहरण पनि छन्। राति अबेरसम्म इन्टरनेटमा झुम्मिनेहरु बिहान अबेरसम्म सुत्न चाहन्छन्। बिहानै कलेज जान पर्नेहरु उठ्नै पर्ने हुन्छ। तर, दैनिक ढिलो सुताई र चाँडो उठाईले उनीहरुको शारिरीक र मानसिक समस्या बढाउँदै लैजान्छ। अनि, विस्तारै उठ्नकै समस्याले कलेज जानै कम हुन्छ वा छाड्छन्।

उनीहरु ढिलो सुतेर ढिलै उठेर ८–१० घण्टा सुते पनि समस्या भइनै हाल्छ किनकि, यो स्वाभाविक होइन। हामीले खोजेको जीवनशैली होइन, जसलाई हामी स्वीकार्न गाह्रो मान्दै जान्छौं। हामी त बिहानै उठेर व्यायाम गरेर कलेज जानुछ। वा, बिहानका अन्य काम सकेर दिनको तयारी गर्नुछ। तर, यी सब हुन सकिरहेका हुँदैनन्।

यसले झनै अनिद्रा बढाउँछ। र, अबेर सुत्ने समस्या बढ्दै सुत्नै नसक्ने अवस्थामा पुग्छ। अनि, उसलाई एन्जाइटी–डिप्रेसन हुन्छ। त्यसैले जीवनशैली र निद्राको सम्बन्ध गहिरो छ।

यसको समाधान कसरी हुन्छ

निद्रा हाम्रो लागि नभइ नहुने कुरा हो। दिउँसो सुत्दा पनि हुने होला त, तर राति नै सुत्ने परम्परा किन भयो?

किनकि, यो आरमदायी र पूर्ण हुन्छ। उज्यालो नहुने, बाहिर हल्ला कम हुने वा नहुने हुँदा रातको निद्रा सहज हुन्छ। हल्ला र उज्यालोमा मस्तिष्क सक्रिय हुन्छ र निद्रा लाग्दैन।

त्यसैले राति काम गर्नेले दिउँसो निद्रा लागोस् भनेर धेरै उज्यालोबाट बच्ने, कालो चस्मा लगाएर हिँड्ने। घर आउनासाथ पर्दा लगाएर होहल्ला नभएका ठाउँमा निदाउने प्रयास गर्ने।

राति काम गर्ने बाध्यता नभएकाले आफ्नो जीवनशैली परिवर्तन गर्ने। राति अबेरसम्म टिभी, इन्टरनेटमा नझुम्मिने।

सुत्ने र उठ्ने समय नियमित बनाउने। जस्तो सुत्ने समय ढिलोमा साढे दस र उठ्ने समय ढिलोमा सात बजे। यसको लागि आफैं ऊर्जा ल्याउन जरुरी छ। निकै समस्या परे चिकित्सकको सल्लाह र औषधि पनि लिन सकिन्छ।

सधैं व्यायाम गर्नाले नियमित निद्रा हुन निकै मद्दत हुन्छ। यसका निम्ति हामी साँझ बिहान समयमिलाएर हिँड्न सक्छौं। यसबाहेक अन्य व्यायाम, ध्यान, योग गरेर पनि अनिद्राको समस्या समाधान हुन सक्छ।

हामीले खाने कुरा र समय नमिल्दा र अनियमित हुँदा पनि निद्रा लाग्दैन। त्यसैले सकेसम्म एकै समयमा खाने र राति हल्का खाने। खाएको कम्तीमा एक घण्टासम्म नसुत्ने।

निद्रा लाग्दैन भनेर चिन्तित हुने होइन, लाग्छ भन्ने सोच्ने र प्रयास गर्ने।

सुत्ने बेलामा निद्रा बिगार्ने गरी आएका विचार पन्छाउनतिर लाग्ने। यसबारे भोलि सोचेर समाधान निकालौंला भनेर मस्तिष्कलाई सुझाव दिने। विस्तारै यो नियमित हुँदै जान्छ र, निद्रा लाग्न थाल्छ।

हामीले यसको अभ्यास नै नगरेर झनै समस्या बढेको हो।

( डा. प्रदीप पाण्डे नसा तथा मानसिक रोग विशेषज्ञ हुन्। उनी अल्का अस्पतालमा कार्यरत छन्)

Leave a Reply

Your email address will not be published.