Categories
ताजा समाचार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार १० गते मङ्गलबार नेपाल बन्दको घोषणा (प्रेस वक्तव्य सहित)

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारले फासिवादी शैलीले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै त्यसका विरुद्ध यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेकपाका महासचिव विप्लवले आज प्रेस वक्तव्य जारी गर्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गरेका छन् ।

महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘केपी वली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ ।

त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ ।

पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ । वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी वली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गर्दछ । साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गर्दछ ।’

महासचिव विप्लवको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ । सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

Leave a Reply

Your email address will not be published.