Categories
ताजा समाचार

प्रहरी निरीक्षक १५ हजार घुससहित रंगेहात पक्राउ

भैरहवा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक केशवहादुर बस्नेतलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

बिहीवार बेलुका उनलाई कार्यालयबाटै नगद १५ हजार घुससहित पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । तिनाउ नदीमा लगाइएको ठेक्काबाट पैसा तिरेर बालुवा बोकेको ट्याक्टर अवैध भन्दै बस्नेतले पक्राउ गरेको पीडितको भनाइ छ ।

ट्याक्टर छोड्न भन्दा १५ हजार दिएमात्र छोडिदिने बताएपछि पैसा दिने सहमती गरेर पीडित लोनिया अख्तियारलाई खबर गरेर पैसा दिन प्रहरी कार्यालय पुगेका थिए ।

पैसा दिएर लोनिया फर्किने बित्तिकै अख्तियारले बस्नेतलाइ पक्राउ गरेको थियो । अहिले रुपन्देहीका खोला स्थानीय तह र जिल्ला समन्वय समितिले ठेक्का लगाएको छ । ठेक्काको अन्तिम मिति नजिकिँदै जाँदा प्रहरीसँगको सेटिङमा ठेकेदारले अवैध उत्खनन् गर्दै आएका छन् । यही मौकामा प्रहरीले बालुवा खरिद गरेर लैजाने नागरिकलाई दुःख दिँदै आएको छ ।

बस्नेतले तिनाउ, दानव नदीबाट बालुवा ओसारपसार गर्ने ट्याक्टर, टिपर तथा ठेकेदारसँग अवैध असुली गर्दै आएका थिए । बस्नेत यसअघि पनि विभिन्न बिबादमा मुछिएका थिए ।

उनले ट्याक्टर, टिपर र मालबाहक गाडीबाट समेत असुली गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published.