Categories
ताजा समाचार

ओखलढुङ्गाको ओदेखोलामा एक व्यक्तिको शंकास्पद शव फेला परेको छ

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ ओदेखोलामा एक व्यक्तिको शव फेला परेको छ । भीरमुनीको खोल्सामा फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्ध बहादुर थापाको रहेको प्रहरीले जनाएको छ ।

बुधबार राती भीरबाट लडेर उनको मृत्यु भएको बताइएपनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र यसबारे थप अनुसन्धान गरिने प्रहरीको भनाई छ ।

थापासँगै हिँडेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा फेला परेका छन् । उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा झिकाइएको छ । भीरबाट दुवै जना लडेको भनिएपनि एउटाको मृत्यु हुनु र अर्को सामान्य घाइते मात्र हुनुले घटना शंकास्पद रहेको स्थानीयले जनाएका छन् ।

मृतक रुद्ध बहादुर थापा र दिपक बुढाथोकी नाताले मामा भान्जा हुन् । उनिहरु दुबैजना खसी व्यापारी हुन् । बुधबार साँझ खसी व्यापार गरेर काठमाडौंबाट फर्केका उनीहरु नवलपुरमा बास बसेका थिए ।

काठमाडौँबाट आउँदै गर्दा रात परेपछि उनीहरु नवलपुरको होम कुमारीको होटलमा सँगै बास बसेका थिए । तर उनीहरु रातारात होटल छोडेर भागेका थिए ।

खसी ब्यापार गर्ने दुई मध्ये मृतक रुद्ध बहादुरले डेढ लाख रुपैयाँ बोकेको जनाइएको छ । रातको समयमा नदी किनारबाट टर्च बालेर केही मानिसहरु आएको देखेका थिए । त्यो देखेर उनिहरु पैसा लुट्न आयो भन्दै रातारात होटल छोडेर भागेको बताइएको छ ।

भाग्ने क्रममा चम्पादेवी–२ स्थित ओदेखोला भीरबाट दुवैजना लडेको घाइते दीपक बुढाथोकीले बताए । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले घाइते बुढाथोकीलाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा अनुसन्धान भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.