Categories
ताजा समाचार

कसरी चिन्ने नक्कली नोट ?

२२ जेठ, काठमाडौं । बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ ।

पोखरा, बिरानगर, धनगढी, नेपालगञ्ज, बिर्तामोड लगायतका ठाउँमा पनि विभिन्न समयमा नक्कली नोट भेटिएका छन् । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि गर्छन् । केही समयअघि गोरखा जिल्लाको सदरमुकाममा नक्कली नोट भेटिएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको थियो ।

नक्कली भारतीय नोटको कारोबार व्यापक हुँदै गएको छ भन्ने त केही दिन अघि विमानस्थलमा घटेको घटनाले पुष्टि गरेको छ । भारुसँगै नेपाली नोटसमेत नक्कली बनाएर कारोबारमा ठूलै गिरोह नै संलग्न भएको हुनसक्ने सुरक्षा श्रोतको आशंका छ ।

राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ । राष्ट्र बैंकले नोटको सही पहिचान गरेर मात्रै बुझ्न आग्रह गरेको छ ।

नक्कली नोटको फन्दाबाट जोगिन होस पुर्‍याउनुपर्ने बताउँदै राष्ट्र बैंकले ठूला दरका नोट कसरी सक्कली नक्कली छुट्याउने भनेर जानकारी समेत दिएको छ । राष्ट्र बैंकले एक सय, पाँच सय र एक हजार रुपैयाँ दरका नोटहरु नक्कली भेटिन सक्ने भन्दै यसलाई कसरी छुट्याउने भनेर पठाएको छ ।

‘अहिले नै बजारमा नक्कली नोट छ्यापछ्याप्ती भएको होइन, हामीले जानकारी मात्र दिएका हौं,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘नक्कली नोट कसरी चिन्ने भनेर हामीले सर्वसाधारलाई बुझाउनु पर्छ, त्यो बुझाएका हौं ।’ भर्खरै निकालिएको सूचना बजारसँग सम्बन्धित नभएको उनले बताए । सर्वसाधारणलाई जानकारीका लागि आवश्यक पर्ने भएकाले सूचना निकालिएको उनले बताए ।

नक्कली नोटका विषयमा भने सधैँ सतर्क हुनु पर्ने उनको भनाइ छ । सर्वसाधारणले सजिलो रुपमा नक्कली नोट चिन्नका लागि छामेमात्रै पनि पुग्ने उनको भनाइ छ ।

‘छाम्दा नै थाहाँ पाइन्छ, नक्कली नोट र सक्कली धेरै फरक हुन्छ, यसमा पनि शंका लागे थोरै पानीले भिजायो भने नक्कली नोट लथ्रक्क भिज्छ’ प्रवक्ता निरौलाले भने, ‘५ सय र १ हजार रुपैयाँको नोटमा गोल्डेन कलरमा एनआरबी लेखेको हुन्छ, त्यो नक्कलीमा हुँदैन ।’

कसरी चिन्ने नक्कली नोट ?

पानीछाप (वाटरमार्क) : नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीलगायत ।
उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एकवटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

सुरक्षण धागो : सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुबैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

नोटको अग्र भागमा प्रिन्ट गरिएको ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।’ भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरुका लागि राखिएका तीनवटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरु हुन् । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।

पाँच सय रुपैयाँ र एक सय रुपैयाँको नोट पनि करिब–करिब चिन्ने तरिका उस्तै हुन्छ । तथापि नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लेखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए/नभएकाबारे यकिन गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published.