Categories
ताजा समाचार

चालकले बसलाई ‘स्टार्ट’को अवस्थामा छोडेर शौचलय गर्न निस्केको समयमा बस गुडेर दुर्घटना

चालकले आवश्यक सावधानी नअपनाउँदा दाङमा भएको बस दुर्घटनामा दस यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए।

दुर्घटनामा कैलाली टिकापुर निवासी ६५ वर्षीय भागिराम डँगौरा, उनकी ६० वर्षीया पत्नी तेज्या डँगौरा, चुगा नगरपालिकाका ३५ वर्षीय कृष्ण भण्डारी र डडेलधुरा अमरगढीकी ५० वर्षीया गोपा सार्की गम्भीर घाइते भएका छन्। भण्डारीका छोरा पनि उक्त दुर्घटनामा घाइते भएका छन्। ती पाँच घाइतेहरूको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले दुर्घटनाका घाइते भएका अन्य पाँच जनाको दाङको लमहीमा उपचार भइरहेको जानकारी दिए।

नारायणघाटबाट पश्चिमको धनगढीतर्फ जाँदै गरेको ना ७ ख १२६४ नम्बरको यात्रुवाहक बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका वडा नं. ९ रिहार नजिकै गएराति १२ बजे दुर्घटनामा परेको थियो।

‘चालकले बसलाई ‘स्टार्ट’को अवस्थामा छोडेर शौच गर्न निस्केको समयमा बस गुडेर दुर्घटना भएको रहेछ,’ प्रवक्ता शाहले भने। प्रहरीका अनुसार बसमा कुल ४० यात्रु थिए। तीमध्ये ३० यात्रु र समेत शौचका लागि ओर्लिएका थिए।

‘चालक नजिकै बसेकी एक जना महिला चल्मलाएपछि ती महिलाको खुट्टाले गियरमा छोइएको र १५ मिटर पर गुडेर दुर्घटना भएको भन्ने जानकारीमा आएको छ,’ एसपी पाण्डेले भने ‘हामी घटनाबारे अनुसन्धान गर्दैछौं, चालकको खोजी पनि जारी छ।’

दुर्घटना लगत्तै चालक फरार छन्।छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेनामा आइतबार बेलुका ट्रयाक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा दंगिशरण गाउँपालिका वडा नं. ५ सलौरा निवासी ५० वर्षीय भीमबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

तुलसीपुरदेखि सल्यानको कालीमाटीको लागि जाँदै गरेको रा १ त १७०७ नम्बरको ट्रयाक्टरले एकै दिशातर्फ जाँदै गरेको चौधरी सवार साइकललाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

आइतबार नै घोराहीमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो। रा १ ख ११३९ नम्बरको टिपर घोराही उपमहानगरपालिका वडा नं. १ हर्नौक भन्ने स्थानमा दुर्घटना हुँदा घोराही ३ भैंसकुर्मा निवासी ४० वर्षीय चालक देवबहादुर महराको घटनास्थलमै मृत्यु भएको थियो।

घोराही–मुर्कटी सडक खण्ड अन्तरगत चुन ढुंगा बोकर झर्दै गरेको घोराही सिमेन्ट उद्योगको टिपर झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ।

Setopati बाट साभार

Leave a Reply

Your email address will not be published.