Categories
ताजा समाचार

कर्तव्य ज्यान मुद्दाको सजाय एक कैदी शुक्रबार दिउँसो पुन नेपालगञ्जबाट पक्राउ

१८ जेठ, बर्दिया । कारागारमा कैद भुक्तान गरिरहेका कैदी–बन्दीलाई बर्दिया कारागारले नियमविपरीत बजार घुम्न अनुमति दिएकाे घटना सार्वजनिक भएकाे छ ।

बर्दियाको गुलरिया कारागारमा कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका रवि पुन शुक्रबार दिउँसो नेपालगञ्जबाट पक्राउ परेसँगै कारागारभित्रको विकृति सार्वजनिक भएको हो ।गुलरिया कारागारभित्र नियमविपरीतका गतिविधि हुने गरेको गुनासो सुनिए पनि कैदी नै बजार घुम्न निस्किएको घटना यसअघि सुनिएकाे थिएन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले कैद भुक्तान गरिरहेका पुनलाई पक्राउ गरिएको स्वीकारे । बास्तोलाका अनुसार नेपालगञ्ज बजार घुम्दै गरेको अवस्थामा पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तर, जेलर विजय मल्लले भने कैदीलाई उपचारका लागि नेपालगञ्ज लगिएको बताए । उनले पक्राउ परेका कैदीसँगै प्रहरी पनि रहेको तर कागज लान बिर्सेकाले घटना भएको दाबी गरे ।

छानबिन समिति गठन

कैदीलाई कारागार बाहिर जान दिएको विषय सार्वजनिकपछि यसबारे जिल्ला प्रशासन कार्यालय, बर्दियाले छानबिन थालेको छ । प्रशासकीय अधिकृत अर्जुन सुवेदीको नेतृत्वमा समिति गठन गरेर जिल्ला प्रशासन कार्यालयले छानबिन थालेको हो । समितिमा राष्ट्रिय अनुसन्धानका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सदस्य छन् ।

प्रहरी उपरीक्षक बास्तोलाका अनुसार, छानबिन समितिलाई ३ दिनभित्र घटनाबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

कस्तो छ कारागारको अवस्था ?

पञ्चायतकालमा निर्माण गरिएको कारागार भवन जीर्ण अवस्थामा रहेको छ । १ सय पुरुष र २५ महिला क्षमताको कारागार भए पनि अहिले क्षमताभन्दा दोब्बर बढी संख्यामा कैदीबन्दी रहेका छन् ।

जेलर विजय मल्लका अनुसार, कारागारमा महिला–पुरुष गरी २ सय ८७ जना छन् । जसमा २ सय ७५ पुरुष र १२ जना महिला छन् ।

Leave a Reply

Your email address will not be published.