Categories
ताजा समाचार

एउटा विभत्स हत्याकाण्डबाट ज्यान जोगाएका लोकेश उनी अझै त्रासमा के हो यथार्त ?

मुखमा ‘निबुलाइजार माक्स’ जोडिएको छ । हातमा सलाइन पानी चढाइएको । ट्रमा सेन्टरको ‘बेड नम्बर ५२६’ मा एकजना किशोर घरि यता पल्टन्छन् त घरि उता । ‘गर्मी भयो’ भन्ने संकेत गर्दै ‘निबुलाइजर माक्स’ खोल्न खोज्छन् । अनुहारबाट खलखली पसिना आइरहेको छ ।

एउटा विभत्स हत्याकाण्डबाट ज्यान जोगाएका उनी अझै त्रासमा देखिन्छन् । अस्पतालको शैय्यामा देखाएको गतिविधिबाट आत्तिएको र उकुसमुकुस भएको प्रष्ट हुन्छ ।

होसमा आउँदा यत्ति मात्र बोल्न सक्छन्, ‘ढोका खोल्नासाथ हजुरबुवालाई हिर्कायो । उहाँ ढल्नुभयो । हजुरआमालाई हिर्कायो, हजुरआमा पनि ढल्नुभयो । म भाग्न खोज्दा मलाई नि हिर्कायो, म पनि ढलेँ ।’

पाँच दिनअघि (गत शनिबार)

दार्चुला जिल्ला । महाकाली नगरपालिलका । जाख गाउँ ।

लोकेश महरा हजुरबुवा वीरमान र हजुरआमा द्रौपतीसँगै पसलमा थिए । साँझ झमक्क परेपछि खाना खाएर सुते । राति भएपछि सुत्नु र बिहान सबेरै उठ्नु उनीहरुको दैनिकी थियो । तर, त्यो दिनबाट उनीहरुको दैनिकी बिग्रियो । बिहान सबेरै वीरमानले पसल खोल्न सकेनन् । द्रौपतीले चिया उमाल्न पाइनन् । किनकी, सदाझैँ उनीहरु सकुशल ब्युझिएनन् । एक लयमा चलिरहेको जिन्दगीमा अकस्मात ‘ब्रेक’ लाग्यो ।

त्यस्तो घटना त्यो क्षेत्रमा घटेको ‘रेकर्ड’ थिएन । घटना देखेर पुरै गाउँका मानिसहरु त्रसित थिए ।

७५ वर्षीय वीरमान र ७० वर्षीया द्रौपतीको हत्या गर्नुपर्ने कारण के थियो त ? मानिसका आआफ्नै अड्कल थिए । घटना प्रकृति हेर्दै उनीहरुले गरेको अड्कल डरलाग्दो थियो । घटना पनि त कम विभत्स थिएन !

शनिबारको दिन । मध्यरात । गाउँ सुनसान भइसकेको थियो । सदाँझै लोकेश हजुरबा/हजुरआमासँगै पसलमै सुतेका थिए । उनको बुवा रोजगारको लागि दिल्लीमा थिए । आमा पसल नजिकै गाउँमा । पसलमा हरेक दिन उनीहरु तीन जनामात्रै सुत्थे ।

मध्यरातमा कसैले टिनको छानोमा ढुंगा बर्सायो । छानो बजेपछि वीरमान उठे । केही क्षणमै ढोकामा ढुंगो बज्रियो । वीरमानले ढोका खोले । ढोका खोल्नासाथ उनको टाउकोमा अजगंको चिर्पट बज्रियो । उनी चिच्याउन थाले ।

हजुरबाको चिच्याहटले लोकेश ब्यूँझिए । हजुरआमा पनि अत्तालिँदै ढोकामा पुगिन् । हजुरआमामाथि पनि चिर्पट बज्रियो । हजुरबा हजुरआमाको अवस्था देख्दा लोकेश तर्सिए । अर्धनिध्रामा रहेका उनी त्यहाँबाट भाग्न खोजे । उनको टाउकोमा पनि चिर्पट बज्रियो । त्यसपछि उनी बेहोश ।

आइतबार बिहान, साढे सात बजे

लोकेशकी हजुरआमा बिहान उठेर नजिकै रहेको घर जान्थिन् । लोकेश पनि स्कुल जानको लागि सबेरै घर पुग्थे । त्यो दिन अबेरसम्म उनीहरु घर पुगेनन् ।

लोकेशको बहिनी पसल पुगिन् । पसल खुल्लै थियो । हजुरबुवा, आमा र लोकेश लडिरहेका थिए । वीरमानको शरीरभरि चोट नै चोट । टाउको क्षतविक्षत । रगत लत्पतिएर हेर्न सकिने अवस्था थिएन । हजुरआमाको अवस्था पनि त्यो भन्दा फरक थिएन । कान लुछिएर रक्ताम्याए थियो भने शरीरभरि नै निलडाम । घटनास्थल नजिक चिर्पट थियो ।

लोकेशको बहिनी त्यो देखेर अत्तालिदै घर पुगिन् । गाउँभरी हल्लाखल्ला मच्चियो । सबै जना पसलमा भेला भए । प्रहरीहरु आएर मुचुल्का उठाए । द्रौपतीको घटनास्थलमै मृत्यु भइसकेको थियो भने दार्चुला जिल्ला अस्पतालमा पुर्‍याएपछि वीरमानले पनि प्राण त्यागे ।

लोकेशको होस अस्पताल पुगेपछि मात्र आयो । दार्चुला जिल्ला अस्पतालले त्यही दिन लोकेशलाई सेती अञ्चल अस्पताल धनगढी ‘रिफर’ गरिदियो । टाउको र छातीमा गहिरो चोट भएका कारण उनले उपचार सम्भव भएन । लोकेश मानसिक रुपमा पनि विक्षिप्त थिए ।

आइबार साँझ ५ बजे लोकेश काठमाडौंको ट्रमा सेन्टरमा भर्ना भए । त्यहाँ राखेको पाँच दिन भइसक्दा पनि लोकेश अर्धचेत अवस्थामै छन् । होसमा आउँदा बरबराइरहन्छन्, केही सोध्नासाथ झर्किएर रुन थाल्छन् ।

‘यस्तो घटनामा हाम्रो दार्चुलामा पहिले कहिल्यै देखेको थिइन,’ लोकेशसँगै काठमाडौं आएकी दिदी पूजाले भनिन्, ‘यो घटना देखेर गाउँका सबै अचम्ममा परेका छन् ।’

पूजा महरा लोकेशको ठुलो बुवाको छोरी हुन् । २१ वर्षीया उनी लोकेशको उपचारको लागि दार्चुलादेखि सँगै छिन् । पूजाका अनुसार लोकेशकी आमा गाउँमा अर्धचेत छिन् । रोजगारीका लागि दिल्ली गएका बुवा दार्चुला फर्केर काजकिरिया गर्दै छन् । यहाँ लोकेशको साहारा पूजा मात्रै। उनै पूजाले घटनाको बेलिविस्तार लगाइरहेकी छिन्।

अस्पतालको शैय्यामा टुलुटुलु निराश भएर लोकेशलाई हेरिरहेकी उनी भन्छिन्, ‘निदाएको बेलामा घरिघरि तर्सिन्छ । ‘बचाउँ बचाउँ…’ भन्दै अत्तालिन्छ, हातगोडा फ्याँकेर असिन पसिन हुन्छ । भाइको अवस्था देखेर मलाई डर लागिसक्यो ।’

यसरी डराउँदै अस्पताल बसेको चार दिन भइसक्यो । लोकेशको अवस्था सुध्रिएको छैन । कञ्चटतिर अझै पनि निलडाम उस्तै देखिन्छ । हात र गोडा पनि राम्रोसँग तङ्ग्रिएका छैनन् । डाक्टरले ठीक हुने सान्त्वना दिइरहेका छन् ।लोकेश अत्तालिँदै रुन खोज्दा पूजा सम्झाउँछिन्, ‘नरो नरो ठीक हुनलाई यस्तो भएको हो । ठीक हुने बेला यस्तै हुन्छ । अत्तालिनु हुन्न ।’

तर, लोकेशको हातगोडा चल्न बन्द हुदैन । ‘नेबुलाइजर माक्स’ निकाल्न हात पुर्‍याइरहन्छन् । अनि असिन पसिन हुँदै एउटै कुरा दोहोर्‍याउँछन्, ‘हजुरबालाई नि हान्यो, हजुरआमालाई नि हान्यो । मलाई नि छोडेन ।’

लोकेशको कुरा सुन्दा मात्र पूजाको आङ जिरिङ्ग हुन्छ । घटनास्थलको दृश्य सम्झँदा दिमाग रन्थनिन्छ । अस्पतालमा भाइको अवस्था हेरिरहँदा रुन मात्र मन लाग्छ ।तर, अभिभावक बनेर अस्पताल आएकी उनी सम्हालिन्छिन्।

त्रसित भावमा बोल्छिन्, ‘त्यो रात बुढा हजुरबा, हजुरआमा कति छटपटाए होलान्, कति चिच्याए होलान् ? बाँच्नको लागि कति संघर्ष गरे होलान् ? भाइले कसरी हेर्न सक्यो त्यो दृश्य ? धन्न यत्तिको छ भाइ ।’

लोकेशकी दिदी पूजा ।

उनी यति बोलेर सुस्केरा हाल्छिन् । शैय्यामा निदाइरहेको लोकेशको हात सुमसुम्याउँछिन् । कपाल मुसार्छिन् र टोलाउन थाल्छिन् । लोकेशको स्वास्थ्य अवस्था बुझ्न आएकी नर्सले उनको ध्यान भंग गर्छिन् । नर्स भन्छिन्, ‘अब सिटी स्क्यान गर्नुपर्छ । तयारी अवस्थामा रहनू ।’

अस्पताल ल्याएदेखि भाइको स्याहारमा जुटिरहेकी पूजाको खाने, बस्ने ठेगान छैन । आएदेखि अस्पतालमै छिन् । काठमाडौंमा रहेका आफन्तहरु अस्पताल पुगिरहेकाले केही सजिलो भएको छ । तर, एक्लै हुदाँ डर लागिरहन्छ । अनि भाइसँग गफिन खोज्छिन् तर भाइको अवस्था ठीक भए पो ! केही सोध्यो कि रोइहाल्छ । कतिपय अवस्थामा रुदैँ केही सुनाउँछ । भाइको कुरा सुनेर उनी झनै झसँग हुन्छिन् ।

हिजो मात्र उनले लोकेशलाई सोधिन्, ‘के भएको थियो भाइ त्यो रात ?’

सुरुमा लोकेशले जवाफ दिएन । झर्को मान्दै रोइरहे । त्यसपछि घटनाको बेलिबिस्तार लगाए । लोकेशले भनेको कुरा पूजाले जस्ताको तस्तै बेलिविस्तार लगाइन् ।

… त्यो मान्छे घरभित्र छिर्दा एउटा हातमा लौरौ जस्तो केही थियो । एउटा हातमा सानो पिलपिल बल्ने टर्च लाइट । हजुरबुवालाई लौरोले हानेपछि उ हजुरआमातिर झम्टियो । हजुरआमालाई हानेपछि कान लुछ्यो । त्यो बेला घम्साघम्सी भयो । त्यो देखेर म डरले भागे । मलाई नि टाउकोमा लौरोले हिर्कायो । त्यसपछि मलाई केही याद छैन ।

पूजालाई लोकेशले सुनाएको यत्ति हो । घटनाको एक मात्र प्रत्यक्षदर्शी उनलाई आक्रमण गर्ने व्यक्तिको नाम थाहा छैन । अनुहार सम्झन सक्दैनन् । विक्षिप्त अवस्थामा रहेका उनी १४ वर्षका मात्र छन्।

पूजा भन्छिन्, ‘टाउको, हात खुट्टा र छातीमा नमज्जाले कुटेछ । अब त मर्‍यो नै भनेर छोडेको होला सायद तर, बेहोस भएकाले बाँच्यो । हजुरबा हजुरआमाको टाउको फुटेर रक्ताम्य थियो । हामीले त हेर्नै सकेका थिएनौँ ।’

पूजाका अनुसार उनीहरुको पसल गाउँबाट अलि पर थियो । त्यो ठाउँमा अरु घर थिएन । बाटोको छेउ भए पनि सुनसान नै थियो । पसलमा हजुरबुवा—आमाले किराना सामान र चिया नास्ता बेच्ने गर्थे । गाउँमा कसैसँग झगडा भएको पूजालाई याद छैन । शत्रुता कोहीसँग नभएकाले शंका लाग्ने व्याक्ति कोही नभएको बताउँछिन्।

भन्छिन्, ‘हजुरआमाको कान र घाँटीको गहना थिएनन् । कान लुछिएका थिए । पक्कै चोर हुनुपर्छ । साढे दुई तोलाको गहनाको लोभले हत्या गरेको हुनुपर्छ ।’
ट्रमा सेन्टरमा लोकेशको उपचारमा खटेका न्युरो सर्जन डा. राजन शर्मा लोकेशको अवस्था अस्पताल ल्याउँदा भन्दा नबिग्रिएको बताउँछन् । दाहिने कञ्चटमा रगत जमेकाले बिरामी विक्षिप्त देखिएको उनको कथन छ ।

टाउकोमा रगत जमेका बिरामीको मानसिक अवस्था सामान्य नहुने उनी सुनाउँछन्।हिजो सिटी स्क्यान गर्दा २५ एमएल रगत कञ्चटमा जमेको भेटियो । ३० एमएल भन्दा बढी रगत जमेको भए अपरेशन गर्नुपर्थ्यो,’ डा. शर्माले भने, ‘अहिले औषधि चलाइरहेका छौं । औषधिले ठीक भएन भने केही दिनमा अपरेशन गर्छौं ।’

शंकाको घेरामा तीन जना

यता लोकेश अस्पतालमा छटपटाइरदा उता प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । अनुसन्धान जारी रहे पनि हत्यारा पत्ता नलागेको दार्चुलाका डीएसपी दीपेन्द्र शाही बताउँछन् । लोकेशले प्रारम्भिक बयानमा १ जना आएको बताए पनि शंकाको घेरामा तीन जना रहेको प्रहरीले बताएको छ ।घटनास्थलमा कुनै शंकास्पद वस्तु फेला नपरेकाले निष्कर्षमा पुग्न नसकेको उनको कथन छ।

‘घटना बारेमा देख्ने, त्यहाँको गतिविधि थाहा पाउने मान्छे नै छैनन् । बाँचेको एउटा बच्चो राम्रोसँग बयान दिन सक्दैन । त्यसैले हामीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको छ’ शाहीले भने, ‘उनीहरुको झैझडा, पारिवारिक नाता सम्बन्ध हेरेर अनुसन्धान गरिरहेका छौं ।’त्यस क्षेत्रका तीनजना युवा सम्पर्कमा नआएकाले प्रहरीले उनीहरूको खोजि गरिरहेको उनले बताए । भने, ‘अरु पनि धेरै शंकाको घेरामा छन् । हत्यारा चाँडै पत्ता लाग्छ ।’

Leave a Reply

Your email address will not be published.