चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् ।
प्रहरीले उनलाई गयराती नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका हुन् ।
बुधबार बिहान डोजरसहित आएका ती व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।
हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरे ।
नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।
धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए ।
घटना पश्चात धुर्मुस–सुन्तली फाण्डेशनले सुरक्षाको कारण देखाउँदै तत्कालका लागि रंगशाला निर्माणको कार्य स्थगित समेत गरेको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले एक विज्ञप्ती जारी गर्दै काम गर्ने वातावरण नभएकाले काम स्थगित गरिएको जनाएका छन् । यस घटनाको चौतर्फी बिरोध समेत भईरहेको छ ।